जनकपुरधाम, २ फागुन । स्थानीय हस्तकलाको राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उदेश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी हुने भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा फागुन २ गतेबाट तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी हुन लागेको हो ।
स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष शाक्यले प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमीहरुलाई सहभागी गराइने बताइन् ।
उनका अनुसार सो प्रदर्शनीमा ५० भन्दा बढी स्टलहरु लगाइने छ भने स्टल लगाउनका लागि शुल्क लाग्ने छैन ।
प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ ।
तपाईको प्रतिक्रिया