जनकपुरधाम, २२ माघ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा उक्त पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् ।
त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ ।
नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ । यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । झडपमा परी प्रहरी जवान लालबाबु राय पनि घाइते भएका छन् ।
यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । झडप पछि झासहित शिवकुमार गोईत, सुरेश कापर, कारीराम यादव, प्रदीप साह, रुपेश बिराजी, उमेश साह, रञ्जित पाण्डे, अपराज मण्डल, सुभाष मण्डल र बिराजु बिराजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
प्रहरी निरीक्षक अशोक झाको कमाण्डमा रहेको टोलीले झडपको क्रममा १२ राउण्ड हवाइ फायर र दर्जनौँ अश्रुग्याँस फायर गरेको थियो ।
पसल र बजारह बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकी चोकबाट जनक चोक हुँदै शिव चोक पुगेपछि विपरीत दिसाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेका थिए । सो क्रममा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको हो ।
गाडीमा तोडफोड हुनै लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृका प्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाए पनि उनको केहि लागेन । जनक चोकबाट प्रहरी निरीक्षक अशोक झाले हवाई फायर गर्न थालेपछि प्रदर्शनकारी उग्र बनेसँगै तनाव उत्पन्न भएको थियो ।
प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गर्नुका साथै आँश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई भानु चोक तर्फ धपाएको थियो ।
त्यस्तै ,महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा बर्दिबास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुङ्गाना घाइते भएका छन् ।
प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शङ्कर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चूडामणि पोखरेल, वडा सदस्य नीरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् ।
उनीहरूको हात, खुट्टा र टाउको चोट लागेको र वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।
संसद् विघटन र संवैधानिक आयोगहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदम विरुद्ध प्रचण्ड र नेपाल पक्षका नेकपाका कार्यकर्ताहरूले बर्दिबास सहित देशभर आम हडताल गरेको छ ।
तपाईको प्रतिक्रिया