जनकपुरधाम, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शनिबार जनकपुरधाममा विपक्षी पाँच दलनिकट युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनको अगुवाइमा जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध ¥यालीमा सहभागीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरु शिवचोकमा पुगेर कोणसभा गर्ने थाहा पाएपछि नेकपा (एमाले)को केपी शर्मा ओलीपक्षीय राष्ट्रिय युवा संघका कार्यकर्ताले भानुचोकमा अवरोधको प्रयास गरे । तर, त्यहाँ ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले युवा संघका कार्यकर्तालाई रोके ।
प्रहरीले टसमस हुन नदिएपछि युवा संघका कार्यकर्ता अन्य बाटो भएर जनकचोक पुगे । त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले । त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिवचोक पुगिसकेका थिए । उनीहरुले प्रहरीको घेरामा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को खनाल–नेपाल पक्षसहित विपक्षी पाँच दलका २०÷२५ युवा प्रदर्शनमा सहभागी थिए । उनीहरुको प्रतिकार गर्न करिब १०० बढी युवा संघका कार्यकर्ता उत्रिएका थिए ।
तपाईको प्रतिक्रिया