लहान, १५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिक योजना रामायण एक्प्रेसमार्फत रामायण सर्किटको तीर्थाटन मार्च २८ अर्थात् चैत १५ बाट सुरु हुँदैछ ।
अयोध्याबाट रेलमार्फत सुरु हुने रामायाण सर्किट यात्रा जनकपुरको जानकी मन्दिरसम्म हुनेछ । रामायण सर्किट रेलमार्फत हुन लागेको पहिलो तीर्थाटन हो । यो यात्रा अवधि १७ दिनको हुनेछ । रामायण सर्किटको यात्रालाई ट्रेनसँग जोडेपछि धार्मिक पर्यटक बढ्ने अनुमान गरिएको छ ।
त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुर आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोडेर रामायण सर्किटको विकास गर्ने योजना छ । २०७५ वैशाख २८ गते प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट उद्घाटन गरेका थिए ।
मोदीको सन् २०१४ मा भएको पहिलो नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ भएको थियो । भारतले सोही एग्रिमेन्टलाई ‘रामायण सर्किट’ अन्तर्गत विस्तार गर्दै छ । जनकपुर–अयोध्याको दूरी ६ सय ५० किलोमिटर छ ।
भारतले उत्तर प्रदेशको अयोध्या, पश्चिम बंगालको नन्दीग्राम, सीतामढी, बनारस, नासिक चित्रकुट, रामेश्वरम, जनकपुरका धार्मिकस्थललाई रामायण सर्किटमा जोडेको छ । अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४÷१५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो । यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थल जोड्ने भारतको योजना छ ।
भारत सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना ‘लिभ ट्राभल कन्सेसन (एलटिसी) मा पनि नेपाललाई समावेश गरेको छ । रामायण सर्किट निर्माणपछि भारतको केन्द्रीय सरकारका करिब ६ लाख कर्मचारी एलटिसीअन्तर्गत नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया