जनकपुरधाम, ३० बैशाख । विगत केही समयदेखि जानकी मन्दिरका महन्थ गुरु–चेलाद्वारा चर्केको विवादले गर्दा उत्पन्न धार्मिक संस्थाहरू प्रतिको नकारात्मक भावप्रति धनुषा चेम्बर अफ कामर्सको गम्भीर ध्यानाकर्षण भएको छ ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र जानकी मन्दिर लगायत सम्पूर्ण मठमन्दिर धरोहरहरुको संरक्षण र सुरक्षा गर्न कानूनी र सामाजिक मान्यता अनुरूपको ठोस समिति गठन गरि विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रयासदेखि अपारदर्शी आय ब्ययका कारण विभिन्न मन्दिर भित्रको आर्थिक हिनामिना लगायतका सम्पूर्ण मुद्दाहरु माथि समेत अंकुश लगाउन सक्ने खालको पहल यथाशीघ्र गर्न आवश्यक देखिएको कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष मिश्रले मंगलबार एक विज्ञप्ति जारी गरी जानकी मन्दिर सम्बन्धी बिभिन्न मुद्दाहरुमा दोषी देखिएका व्यक्ति अथवा अनुसन्धानपश्चात दोषी ठहर हुने ब्यक्ति, महन्त अथवा चेलालाई कानूनी दायरामा यथाशीघ्र ल्याई कारबाही प्रक्रिया अगाड़ी बढाउन सरोकारबाला निकायहरुसँग माग गर्नुका साथै आफूहरुबाट सक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
केहि संघ संनस्था द्वारा आफूखुशी समिति गठन गरि समाजलाई भ्रमित गर्ने कार्यलाई अबिलम्ब रोक्नसमेत उनले आग्रह गरेका छन् ।
जनकपुर नगरिको पहिचान र देशकै विश्व स्तरमा नाम प्रख्यात गर्न सफल जानकी मन्दिरलाई ब्यवस्थित पार्न, विश्व सम्पदा सूचिमा सूचीकृत गर्न एवं मन्दिर अधिनस्त रहेको श्रीसम्पतिहरुको संरक्षण गर्न सम्पूर्ण सरोकारबालाहरुलाई गम्भीर हुन आग्रह गरेका छन् ।
उनले जानकी मन्दिरप्रतिको आस्थालाई कुंठित गर्ने उद्देश्यले सामाजिक संजालमा कुनै पोस्ट नगर्न र नगराउन आग्रह गर्दै सस्तो लोकप्रियताका लागि होइन कि समस्या को समाधान गर्न सामाजिक र कानूनी मान्यता अनुरूपको ट्रष्ट गठन गरि जानकी मन्दिर सम्बन्धी समस्या निदान गर्न र आगामी दिनमा मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउन ठोस पहल तर्फ लाग्न अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया