जनताले मत र विश्वास दिएका पार्टीहरु असफल : जनमत पार्टी

समाचार

12/21/2020

काठमाडौं, ६ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ ।

जनमतका केन्द्रीय सदस्य अब्दुल खानले आइतबार एक विज्ञप्ति जारी यस्तो बताएका हुन् । ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो ।’ विज्ञप्तिमा भनिएको छ ।

विषयमा जनमत पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको र पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको जनाएका छन् ।

नेता खानले विज्ञप्तिमा भनेका छन्, ‘जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको, भ्रष्टाचारलाई घर–घरमा पु¥याएको, भागबण्डा र आपसी लुछाचुँडको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामको रूपमा नै संघीय सदन विघटन हुनुपरेको हाम्रो अहिलेको ठहर छ ।’

पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर जनसम्प्रभुता तथा सामुदायिक स्वराज कायम गर्न जनतासँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ