कपिलवस्तु, १४ असार । कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कानूनी दायरामा काम गरेमा अपराध नियन्त्रण हुने बताएका छन् ।
अधिकारीले शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
जनप्रतिनिधिले मेरो मान्छे तेरो मान्छे पार्टीको मान्छे भनेर विभेद गरेमा स्वतः समाजमा अशान्ति र इगोको लडाइ हुने अधिकारीले बताए ।
राजनीतिक दल तथा जनप्रतिनिधिले १ जना गलत मान्छेको पछाडि पर्दा समाजमा नै आम नागरिकले हेर्ने दुष्टिकोण सधैं द्वन्द्व र पहुँचको लडाइ हुने उनले बताए ।
सामाजिक न्यायको सिद्धान्तमा आधारित भई सत्यको पछाडि लाग्ने र स्वतन्त्रतापूर्वक प्रहरीलाई अनुसन्धान गर्न दल तथा जनप्रतिनिधिले सहयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले अधिकारी प्रहरी प्रमुख भएर आएपछि आफ्नो गाउँपालिका तथा जिल्लामै अपराधका घटना कम भएका र घटनामा संलग्नलाई कारबाहीको दायरामा प्रहरीले ल्याउन सफल भएको बताए ।
शान्ति निर्माण र विकासमा समेत रेखदेख गर्ने काम प्रहरीको रहेको हुँदा सधैं प्रहरी चनाखो भइ काम गरेमा प्रहरीलाई सफलता तथा जनतालाई शान्तिको आभाष हुने खांले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक लालचन्द्र पाण्डेय लगायत बोलेको कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासन शाखाका अधिकृत ईश्वरी प्रसाद न्यौपानेले गरेका थिए ।
जिल्ला तथा गाउँपालिका सूरक्षा र अन्य कार्यका लागि प्रहरी उपरीक्षक अधिकारीले उल्लेखनीय योगदान पुर्याएको भन्दै गाउँपालिकाले दोसल्ला र कदरपत्रले सम्मान गरको थियो ।
तपाईको प्रतिक्रिया