जनप्रतिनिधिले नै लगाए नगरपालिकामा ताला

समाचार

4/15/2021

सिरहा, १ बैशाख । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिहरूले लगाएको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ ।

जनहितका विषयलाई प्राथमिकता नदिएको र नगर प्रमुख तथा प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता हुँदै आएको भन्दै नगरका ८ वडाध्यक्ष र ७ जना कार्यपालिका सदस्यले तालाबन्दी गरेका हुन् ।

उनीहरूले विभिन्न ११ बुँदे माग राखेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा कार्यपालिकालाई जानकारी नदिई कमिसन र घूस लिई सेटिङमा विभिन्न कार्यहरू हुँदै आएको वडा ३ का अध्यक्ष अशोक मण्डलले बताए ।

नगरपालिकामा भएको अनियमितताको छानबिन, आयव्यय पारदर्शी, कार्यपालिका बैठक नै नबसी मनपरी तरिकाले भएको नियुक्ति खारेज, पोखरी ठेक्का प्रक्रियालाई पारदर्शी गर्नुपर्ने, अधिकृतले आफूखुसी बाँडेको योजनाहरू बदर गरी कार्यपालिकाको निर्णयअनुसार गर्नुपर्ने, सबै जनप्रतिनिधिहरूको जानकारीबिना हुने गरेको नगरस्तरीय योजनाको उपभोक्ता समिति गठन कार्य रोक्नुपर्नेलगायतका माग उनीहरूको छ ।

नगरपालिकाले ९ महिनादेखि सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेको र यसबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको कल्याणपुर–११ का वडाध्यक्ष राजेश्वर यादवले बताए ।

उनले नगरका बेथितिहरू समाधानका लागि आफूहरूले पटकपटक प्रयास गरे पनि वास्ता नभएको र अन्त्यमा तालाबन्दी गर्नुपरेको जानकारी नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी यादवले भने आफूलाई मागबारे कुनै जानकारी नै नदिई तालाबन्दी गरिएको दाबी गरिन ।

कल्याणपुरको मेयरमा निर्वाचित सूर्यनाथ मण्डल घूस प्रकरणमा मुछिएपछि निलम्बित छन् । त्यसयता नगरपालिकाकी उपप्रमुख रोहिनी यादवले कार्यवाहक मेयरका रूपमा कार्यभार सम्हाल्दै आएकी छन् ।

नगरपालिकामा १२ वटा वडामध्ये ६ वटामा तत्कालीन राजपाका, ३ वटामा तत्कालीन एमालेका, २ वटामा कांग्रेसका र एउटामा स्वतन्त्र वडाध्यक्ष छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ