विराटनगर, २७ पुस । विराटनगर महानरनगरपालिकाको बुधनगरमा एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण सम्पन्न भएको छ । भारतीय पक्षले जनवरी महिनाभित्रै नेपाललाई आईसीपी हस्तान्तरण गर्ने तयारी गरेको छ ।
नेपाल इन्टरमोडल विकास समितिका अनुसार निर्माण सकिएको र जनवरीभित्र हस्तान्तरण हुने जानकारी भारतीय पक्षबाट आएको हो । सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवम् सुविधासम्पन्न आईसीपी निर्माण गर्ने सहमति भएको थियो । वीरगञ्जको आईसीपी दुई वर्षअघि नै सञ्चालनमा आइसकेको छ ।
आइसीपीमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी सेवा एकै थलोबाट प्रदान गरिने छ । हस्तान्तरणपछि विराटनगरको रानी भन्सार कार्यालय बुधनगरमा स्थानान्तरण हुनेछ । जसबाट समयमै सहज रुपमा वस्तु आयात–नर्यात गर्न सकिने र सवारी चापको समस्या पनि हट्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने तथा राजश्व चुहावट पनि रोकिने विश्वास सरकारको छ ।
भारतको जोगवनीमा निर्मित आईसीपी भने २०७४ कात्तिक महिनाबाट सञ्चालनमा आइसकेको छ । अब नपानलगञ्जमा पनि आईसीपी बनाउन सुरु गरिने भएको छ । भैरहवामा भने जग्गा व्यवस्थापन अझै हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया