जिप्रका धनुषाले हाटबजारमा कडाइ गर्नेे

समाचार

4/22/2021

जनकपुरधाम, ९ बैशाख । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले कडाइ गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्यधिक भीड हुने स्थान हाटबजारमा कडाइ गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

बैठकले जिल्लाको विभिन्न स्थानमा रहेका हाट बजारलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए । यसको अनुगमनको जिम्मा सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीलाई दिइएको छ ।

सरकारी कार्यालयहरुमा अत्यधिक भीड हुने गरेकोले भीडभाड कम गरी संक्रमण जोखिम न्यूनीकरण गर्न अनलाइन प्रणालीलगायत अन्य वैकल्पिक प्रणालीको प्रयोग गर्ने तथा स्थानीय तहअनुसार आलोपालो प्रणालीमार्फत सेवा दिने निर्णय भएको हो ।

नेपाल सरकारको निर्णय गरेअनुरुप संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा वैशाख १० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको प्रजिअ बास्तोलाले बताए ।

धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएकाले सीमानाकामा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी सञ्चालनमा ल्याउने तथा आवश्यक्ता अनुसार होल्डिङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ