जनकपुरधाम, २ साउन । जयनगर–जनकपुर रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने तयारी थालिएको छ । जयनगर (भारत)–जनकपुर–कुर्था रेल्वे ट्रयाकमा आइतवार भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
उनका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतवार रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरेका छन् ।
सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गतवर्षको असोज २ गते ल्याइसकेको छ । तर कर्मचारी व्यवस्थापन, कानून अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेका छैन ।
सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्काएर राखिएको छ । सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो ।
तर, जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा छ ।
तपाईको प्रतिक्रिया