जसपाका शीर्ष नेताहरुलाई कारबाही गर्न सरिता गिरीको माग

समाचार

10/13/2020

काठमाडौं, २७ असोज । जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुलाई कारबारही गर्न तराई मधेश वृहत् लोकतान्त्रिक मोर्चाका संयोजक सरिता गिरीले सरकारसँग माग गरेकी छन् ।

पूर्वसांसदसमेत रहेकी गिरीले मंगलबार एक विज्ञप्ति जारी गरी कोरोना संकमणको दौरान पर्सा जिल्लाको सखुवा पर्सौनी गाविस र उक्त गाविसको महुवन र औराहा मा जनता समाजवादी पार्टीले सयांंको संख्यामा जनतालाई भेला गराई आयोजना गरेको शुभकामना आदान प्रदान र पार्टी प्रवेश कार्यक्रमको घोर विरोध गरेकी छन् ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत रहेका उपेन्द्र यादव र प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलगायतका पार्टीका वरिष्ठ नेताहरु सहभागी भई कुनै भेलाबारे सरकारले निर्धारित गरेको मापदण्डको जसपाले ठाडै उल्लंघन गरी जनताको स्वास्थ्यसँग खेलवाड गरेको गिरीको आरोप छ ।

‘पर्सा जिल्ला त्यसै पनि कोरोना संक्रमणबाट गम्भीर रुपले प्रभावित भएको जिल्ला रहेको हो । जसपा पार्टीले जनता पनि अनुत्तरदायी व्यवहार गरेकोमा पार्टीले सार्वजनिक सुरक्षा लाई जोखिममा पारेको प्रष्ट छ ।’ गिरीले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

ठूला नेताहरुको गैरकानुनी व्यवहार समक्ष जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको निरीहताप्रति संघीय सरकारको ध्यानाकर्षण गराउँदै यस सम्बन्धमा सरकारसँग आवश्यक छानबिन र कारवाहीको माग गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ