जसपाद्वारा आन्दोलनको थप कार्यक्रम सार्वजनिक

समाचार

12/28/2020

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी नेपालले संसद विघटनविरुद्ध आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । संसद विघटन गरेर प्रधानमन्त्रीले प्रतिगमन फर्काएको भन्दै जसपाले दुईहप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

पुस २१ देखि माघ ७ गतेसम्म देशव्यापी प्रदर्शन गरिने जसपाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । जसपाले माघ ७ गते ७७ वटै जिल्ला सदरमुकाम लगायत प्रमुख शहरमा जनप्रदर्शन तथा विरोध कार्यक्रम गर्न लागेको पनि जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएको कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य हुन’

‘जनताको संघर्ष र बलीदानबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्न, सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गराउन चरणबद्ध आन्दोलन गर्न लागेका हौं,’ अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कार्यक्रम अन्तर्गत पुस २१ गते नागरिक समाज, बौद्धिक वर्गलगायतसँग अन्तरक्रिया गरिनेछ । यस्तै पार्टीले गर्ने विरोध सभाहरुलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने पनि जनाएको छ ।

जसअन्तर्गत पूर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता लक्ष्मणलाल कर्णले धनगढीमा पुस २५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरी र भैरहवामा जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरू महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी पुस २७ गते वीरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत, वृषेशचन्द्र लाल, नेपालगञ्जमा मो.इस्तियाक राई, महेन्द्रराय यादव, अमृता अग्रहरी र जनकपुरमा वरिष्ठ नेता राजेन्द्र महतो, रेणुकुमारी यादव र शरतसिंह भण्डारीले सम्बोधन गर्नेछन् ।

त्यस्तै, पोखरामा डा. भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ शरतसिंह भण्डारी, सुर्खेतमा मो.इस्तियाक राई, नवराज सुवेदी, जितेन्द्र सोनल र विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले पुस २९ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

माघ ३ गते धरानमा अशोक राई, रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, मलंगवामा राजेन्द्र महतो, महेन्द्रराय यादव, उपाकान्त झा, सिराहामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव, राजकिशोर यादव, कलैयामा रामसहाय यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी, चन्दा चौधरी र तौलिहवामा शरत्सिंह भण्डारी, मृगेन्द्रसिंह यादव र एकवाल अहमद शाह वक्ता रहेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ