जसपाभित्र अराजक क्रियाकलाप गर्नेहरुप्रति ध्यानाकर्षण (महन्थ र उपेन्द्रको संयुक्त वक्तव्यसहित)

समाचार

5/18/2021

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भन्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेका छन् ।

जसपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला दुवै अध्यक्षबीचको सम्वादहीनता टुटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमा पार्टीको नीतिविपरीत उपेन्द्र समूहले विपक्षमा मतदान गरी कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने निर्णय गरेपछि विवाद बढेको थियो ।

त्यतबेला पार्टीको पदाधिकारीहरुको बैठकद्वारा सहमति गरी आफसी समझदारीकै आधारमा सांसदहरु आआफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरुद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरेको थियो ।

तर सो अवसरलाई स्वयम् दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहले नै दुरुपयोग गरी गुट–उपगुट खडा गर्ने, पार्टीभित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गरेको व्यापक आलोचना भएको थियो । सो क्रियाकलापप्रति पार्टीको ध्यानाकर्षण भएको संयुक्त वक्तव्यमा जनाएका छन् ।

अध्यक्ष ठाकुरले सुरुदेखि नै सरकारमा सहभागी नहुने र सरकार बनाउने वा ढाल्ने कार्यमा नलाग्ने अडान राख्दै छन् । तर उपेन्द्र यादव वैकल्पिक सरकार निर्माणका पूरा दल–बलसहित लागेका थिए । महन्थको अडानका कारण उपेन्द्रको सो अभियान पूरा हुन सकेन ।

यता, जसपा सरकारमा सहभागी हुने वा नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवं अड्कलबाजी भइरहँदा तत्काल जसपा सरकारमा सहभागी नहुने निर्णय गरिएको छ ।

जसपा सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत् कायम रहेको जनाइएको छ ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्थामा भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने जनाइएको छ ।

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ