जसपामा गाभियो नेकपा एकीकृत मार्क्सवादी

समाचार

1/1/2021

काठमाडौं, १७ पुस । जनता समाजवादी पार्टी नेपालमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी समाहित भएको छ ।

शुक्रबार बालकुमारीस्थित समाजवादी ट्रेड युनियन महासंघको हलमा एकीकरण घोषणा कार्यक्रममा एकीकृत मार्क्सवादी गाभिएको हो ।

नेकपा एकीकृत मार्क्सवादी आजैदेखि सम्पूर्ण जिल्ला केन्द्रीय समितिदेखि जिल्ला तहसम्म समितिहरु जसपामा समाहित भएको घोषणा संयोजक अमृत पुरीले गरेका छन् ।

नेता पुरीले जसपाले संसद विघटनविरुद्ध सुरु गरेको आन्दोलनमा आफूहरुले पनि पूर्णरुपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘यस एकताले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित राष्ट्रियता, महिला र शिल्पी÷दलित समुदायको मुक्ति आन्दोलनमा शक्ति प्रदान गर्दै सशक्त पार्नेछ ।’ एकता घोषणा कार्यक्रममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘साथै अग्रगामी लोकतान्त्रिक ध्रुवीकरणमा योगदान गर्नेछ भन्ने विश्वास लिएका छौं ।

एकीकरण घोषणा कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो, नेकपा एकीकृत मार्क्सवादीका संयोजक अमृत पुरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ