जसपा अध्यक्ष ठाकुर र काँग्रेस वरिष्ठ नेता पौडेलबीच नयाँ सत्ता समीकरणका विषयमा छलफल

समाचार

4/4/2021

काठमाडौं, २२ चैत । नयाँ सरकार बनाउन विभिन्न अभ्यास भइरहेको बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

पौडेल आइतबार ठाकुर निवास सानोठिमी पुगेका थिए । ठाकुर निकट जसपाका नेता डा.सुरेन्द्र झाले आइतबार विहान पौडेल र ठाकुरबीच भेटवार्ता भएको बताए ।

उनकाअनुसार दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल भएको छ । भेटवार्तामा पौडेलले कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको जानकारी गराउँदै अब नयाँ सरकार बन्ने स्थिति रहेको बताएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा बाहेक अर्को व्यक्तिलाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहेको पौडेलले ठाकुरलाई बताएका छन् । राजपा नेता झाकाअनुसार पौडेलजीले देउवा बाहेक अर्को व्यक्तिलाई पनि कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहको बताउनुभयो तर अर्को व्यक्ति भनेको को हो । कांग्रेस भित्रबाट हो या कांग्रेस बाहिरबाट हो, त्यो खुलाउनु भएन ।

भेटवार्तामा ठाकुरले कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गर्नु स्वाभाविक भएपनि अन्य दलहरुसँग छलफल नै नगरी आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गर्नु अर्घेल्याइँ गर्न खोजेको टिप्पणी गरेका थिए । ठाकुरले अरु दलहरुसँग छलफल नै नगरी काँग्रेले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेकोमा असन्तुष्टि पनि जनाए ।

ठाकुरको यस्तो प्रस्ताव आएपछि पौडेलले देउवा बाहेक अर्को व्यक्तिलाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्ने धारणा राखेका थिए । पौडेलले भने, ‘देउवाको भित्री चाहना आफैं प्रधानमन्त्री हुने देखिन्छ तर विभिन्न विकल्पहरु बारेमा पनि हामी छलफल गर्छौ ।’

पौडेलसँगको कुराकानीमा ठाकुरले पार्टीले राखेका माग, मुद्दा सम्बोधन भएमा त्यस्तो सरकारलाई आफूहरुले समर्थन गर्ने बताए । ‘हाम्रा माग मुद्दालाई जसले सम्बोधन गर्छ, हामी त्यसैलाई सम्बोधन गर्छौं । यसमा हामी प्रष्ट छौं,’अध्यक्ष ठाकुरको भनाइ उद्धृत गर्दै जसपा नेता झाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ