जसपा कार्यकर्ताबीच झडप

समाचार

9/20/2020

राजविराज, ४ असोज । संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।


संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेतारकार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।


तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथि ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।


पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।


कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु, निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो । स्थिति असहज भएपछि अध्यक्षता गरेका हरेराम यादवले कार्यक्रम समापनको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ