काठमाडौं, ६ चैत । जसपाका नेता तथा प्रतिनिधि सभा सांसद राज किशोर यादवले बाहिर मिडियामा आएको जस्तो जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र कुनै किचलो नभएको बताएका छन् ।
प्रतिनिधि सभाको आज (शुक्रबार)को बैठकलाई सम्बोधन गर्दे यादवले जसपा कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् ।
उनले भने– ‘जनता समाजवादी पार्टी नेपाल जसपा एक ढिक्का छ । कसैको कारणले हामी फुट्ने वाला छैनौं । हामी कुनै लोभ लालचमा फस्ने वाला छैनौं । हामी विवेकपूर्ण देशको हित हुनेगरि सहि समयमा सहि निर्णय गर्छौं ।’
यादवले वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनेर दावी गर्नेहरुले नै अहिले त्यो संविधान च्यातेको आरोप लगाए । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले आफूहरुले वर्तमान संविधानलाई अन्तिम रुप दिँदै गर्दा आफूहरुले केही विषयमा असहमति राखेर विरोध जनाएको स्मरण गराए ।
त्यतिबेला आफूहरुलाई थिचोमिचो गरेर संविधान जारी गर्ने तथा संविधान जारी भइसकेपछि ‘विश्वकै उत्कृष्ट संविधान’ भनेर दावी गर्नेहरुले नै अहिले संविधानलाई च्यातेको उनको भनाइ थियो ।उनले भने, ‘कस्तो विडम्बना ? अहिले हामीले पो यो संविधानको रक्षा गर्नु परिरहेको छ ?’ आफ्नो पार्टीको आन्तरिक झगडा व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै उनले सबैभन्दा पहिला आफ्नो पार्टीले नै प्रतिनिधि सभा विघटन ‘असंवैधानिक’ भनेर त्यसका विरुद्ध तत् क्षण निर्णय गरेर आन्दोलनमा गएको स्मरण गराए ।
‘सर्वोच्च अदालतको विवेकपूर्ण निर्णयले हामी यहाँ उपस्थित हुन पाएका छौं,’ उनले भने, ‘सर्वोच्च अदालतलाई साधुवाद भन्न चाहन्छु ।’ राजनीतिक व्यवस्थाका लागि लडेर अधिकतम उपलब्धि हासिल गरेपनि विधि, पद्धति, लोकतान्त्रिक अभ्यास एकदम कमजोर भएर गएको उनले बताए । ‘सिंहदरवारमा आगो लाग्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिए,’ उनले भने, ‘भ्रष्टाचारका थोरै कुरा बाहिर आउँदा मन्त्रीहरुले राजीनामा दिएको उदाहरण छ ।’
अहिलेको सन्दर्भमा त्यस प्रकारको नैतिकता नदेखिएको उनको भनाइ थियो । उनले एक अर्काविरुद्ध प्रयोग गरेका शब्दको चयन हेर्दा हामी कता गइरहेका छौं भनेर आत्मसमीक्षा गर्नुपर्ने बेला भएको पनि उल्लेख गरे । सत्ता नै सबैथोक हो भन्ने मनोविज्ञान घातक देखिएको भन्दै उनले मूल्य–मान्यताको जसरी ह्रास भइरहेको छ, देशलाई हामीले जहाँ लैजान खोजेका छौं, त्यसमा नकारात्मक असर गर्छ ।’
यादवले संविधान संशोधन, रेशम चौधरीको रिहाईको मुद्दा उठाउँदा सरकारमा आउनुस् भनेर आग्रह गर्ने गरिएको बताए । उनले अघि भने, ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनु हुँदैन । सर्तका रुपमा बुझ्नु हुँदैन, नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’ चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार गर्नुपर्ने बताए । सरकारमा जान संविधान संशोधन, रेशम चौधरीको मुद्दा अघि सारेको भन्दै आफूलाई बद्नाम नगर्न समेत उनले आग्रह गरे ।
तपाईको प्रतिक्रिया