महोत्तरी, ९ चैत । महोत्तरीको सहोडवाबाट पूर्व कर्मचारी मुसाफिर झा र निजकी पत्नी गीतादेवी झालाई बेपत्ता पारिएको आरोपमा पक्राउ गरिएका चारजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
नायब सुब्बा पदबाट अवकाश प्राप्त पिपरा गाउँपालिका ५ सहोडबाका ६५ बर्षीय झा र ५८ बर्षीया निजकी पत्नीलाई फाल्गुन १० गते रातीदेखि बेपत्ता पारिएको घटनाका आरोपित सोही ठाउँका ५२ बर्षीय रामबाबु यादव, उनको जेठा छोरा २६ बर्षीय सुरेन्द्र यादव र कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादवसँगै भारत घरभई पिपरा गाउँपालिका ६ बनौली चोक बस्ने ५० बर्षीय हरेन्द्र ठाकुरलाई सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले चैत्र ५ गते आरोपित चारजना समेतको बिरुद्धमा परेको किटानी जाहेरीको आधारमा अपहरण गरि शरीर बन्धक बनाई बेपत्ता गरेको कसुरको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, प्रदेश प्रहरी कार्यालय धनुषा जनकपुरबाट सुक्ष्म अनुसन्धान भई कारबाही भएको बताएका छन् ।
हाल नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो काठमाण्डौबाट फेला नपरेका झा दम्पति बेपत्ता घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन् ।
बेपत्ताको खोजी कार्यमा कुकुरको प्रयोग गर्नुका साथै ५४ वटा साना,ठुला पोखरी एवं अन्य सम्भावित स्थानमा खोजतलास भएको तथा भारतीय सीमानामा रहेका प्रहरी युनिटहरुलाई समेत परिचालन गरिएको बताइएको छ ।
झा दम्पति सुत्ने छुट्टाछुट्टै घर कोठा भित्रबाट रगतको दाग भेटिएको तथा उनीहरु सुत्ने झुल, सिरानी, डस्ना र सिरानी समेत नरहेको एवं आगनमा घसारिएको जस्तो डाम देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक आचार्यले घटनाको कारण जग्गासँग सम्बन्धित रहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया