काठमाडौं, ८ असार । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सहसराम यादव र पुरमणि ढेंगामगरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्रथम अध्यक्ष महन्थ ठाकुर समूहका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार मंगलबार दुवै जनालाई स्पष्टीकरण सोधिएको हो ।
अनधिकृत रुपमा लुम्बिनी प्रदेशमा जसपाका प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कल्पना पाण्डेले कारबाही गर्न पत्राचार गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
यस्तै जसपाका लुम्बिनी प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई अनधिकृत रुपमा सोधिएको स्पष्टीकरणप्रति आपत्ति जनाइएका नेता झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी निर्वाचन आयोगमा आफू आधिकारिक भन्दै दावी गर्न जाने समूहले केन्द्रीय कार्यकारिणी समितिको निर्णय भनेर जथाभावी कारबाही गर्दै हिडेकोमा सचेत गराउँदै अन्यथा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
उपेन्द्र यादव समूहले लुम्बिनी सरकारमा सहभागी चार सदस्यलाई पाँच दिने स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफमा ठाकुर समूहले पनि कारबाही प्रक्रिया अघि बढाएको हो ।
उसले निर्वाचन आयोगमा आधिकारिकता विवाद विचाराधीन रहेकै बेला गरिएको कथित कारबाही प्रक्रियाले मान्यता नपाउने भए पनि यस्तै रवैया रहे त्यस्ता व्यक्तिउपर थप कारबाही गरिनेसमेत चेतावनी दिइएको छ ।
तपाईको प्रतिक्रिया