डडेलधुराको भारतीय सीमा क्षेत्र परीगाउँ र शीर्षमा बीओपी स्थापना

समाचार

5/19/2020

काठमाडौं, ६ जेठ । चुरे क्षेत्रको वनजंगल तस्करीका साथै सीमावर्ती क्षेत्रका नेपाली नागरिक भारतीयबाट लुटिन थालेपछि डडेलधुराको महाकाली नदीसँग सीमा जोडिएका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी) स्थापना गरिएको छ ।

डलेलधुरा सदरमुकाम अमरगढीबाट दक्षिणतर्फ परशुराम नगरपालिका वडा नम्बर ३ र ५ मा सशस्त्र प्रहरी मुख्यालयले बीओपी स्थापना गरेको हो । वडा नम्बर ३ स्थित शीर्षमा सशस्त्र प्रहरी निरीक्षक प्रेम धामी र वडा नम्बर ५ परीगाउँमा हर्क साउदको कमाण्डमा दुईवटा स्थायी प्रकृतिका बीओपी स्थापना गरिएको हो ।

शीर्षमा सशस्त्र प्रहरी बल नम्बर ५२ गुल्म हेडक्वार्टर अमरगढीबाट टोली गएको हो । परिमा यसअघि २८ जनाको अस्थायी बेस केही महिना अघिबाट खटिएको थियो । यी दुई बीओपी स्थापना भएपछि भारततर्फ सीमा सुरक्षार्थ बीओपी संख्या १ सय २२ पुग्ने छन् ।

यसअघि वैशाख २९ गते दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा १ सय २० औं बीओपी स्थापना भएको थियो । डडेलधुरा सदरमुकाम अमरगढीबाट शीर्ष बीओपी ९९ किमि र परीगाउँ ८५ किमि टाढा पर्छ ।

परीगाउँमा सरकारी जग्गामा टहरा हालेर बीओपी सञ्चालन गर्न लागिएको छ भने परीगाउँमा घर भाडामा लिइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ