काठमाडौं, २० असार । अविरल वर्षाका कारण विभिन्न जिल्लाहरुमा आएको बाढीमा डुबेर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित मदन चोक बस्ने ६५ वर्षीय गुमशेर राईको खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित द्दवार खोला तर्ने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले स्थानियको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब २ सय मिटर तल शव फेला परेको हो ।
यसैगरी, दाङको लमही नगरपालिका–८ भौका बस्ने छोटु लाल चौधरीको १० वर्षीय छोरा अमित चौधरीको खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित भौका खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, कैलाली धनगढी उपमहागरपालिका–१९ फुलवारी साझघारी टोल बस्ने भिम बहादुर परियारको १५ वर्षीय छोरा सागर परियारको नदीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका–१८ एफ गाउँस्थित मामाघरमा बस्दै आएका उनको सोही ठाउँस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
यस्तै, सर्लाहीको बागमती नगरपालिका–१० बस्ने ओजिर शेखकी ८ वर्षीया छोरी सहाना खातुनको पानीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
साथीहरुसँग खेल्न गएकोमा अबेरसम्म घर नआएपश्चात खोजी गर्ने क्रममा सोही ठाउँस्थित खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया