वीरगञ्ज, १४ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ढुक्क भएर होटल व्यवसायमा लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
स्तरीय होटल खोल्दा प्रदेशकै पर्यटनको विकासमा टेवा पुग्ने भएकोले प्रदेश सरकारले आवश्यक सुरक्षाको बन्दोबस्त गर्ने उनले बताए ।
कलैयामा शुक्रबार सुबिधा सम्पन्न होटेल करण राज प्यालेसको उद्घाटन गर्दै मन्त्री सोनलले निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।
‘व्यवसायीहरुसँग पैसा छ तर लगानीको वातावरण छैन भनेर होटल व्यवसायमा लगानी गर्दैनन्,’ उनले भने, ‘कतिपय व्यवसायी साथीहरुले आँट देखाउनुभएको छ, यसले आन्तरिक र बाह्य दुवैखाले पर्यटकलाई आर्कषित गर्छ । त्यसैले प्रदेश सरकार सुरक्षा लगायत अन्य आवश्यक सहयोग गर्न तयार छ ।’
कलैया उपमहानगरपालिका–४ स्थित पर्सा सिटी कोलोनीमा व्यवसायी मणिलाल सर्राफले २५ करोडको लागतमा होटल सञ्चालनमा ल्याएका हुन् ।
तपाईको प्रतिक्रिया