तीजको अवसरमा बिपन्न महिलालाई खाद्यान्न

समाचार

8/21/2020

कपिलवस्तु, ५ भाद्र । हरितालिका तीजको अवसरमा कांग्रेसको भ्रातृ संगठन नेबिसंघ र तरुण दलले विपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलवस्तु र नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले बाणगंगा नगरपालिका–१० पटनाका १५ विपन्न महिलाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

विपन्न तथा एकल महिलाहरुको परिवारलाई तीजको अवसर पार्दै राहत स्वरुप २५ किलोका दरले एक–एक बोरा चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको छ ।

तरुण दल सभापति शक्ति सिंह ठकुरीले कोरोना भाइरसका कारण जिल्लामा लामो समयदेखि जारी लकडाउनले समस्यामा परेका विपन्न महिलाहरुलाई समेत तीज मनाउनका लागि सो सामग्री दिइएको बताए ।

ने वि संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले आफूहरुले खाजा खर्च कटाएर अति विपन्न, दुःखी तथा एकल महिलाहरुको चाड पर्वका बेला चुलो बलोस् भन्ने उद्देश्यले राहत प्रदान गरिएको बताए ।

लकडाउनको समयमा समेत तरुण दल र नेविसंघले जिल्लाका विभिन्न स्थानहरुमा राहत वितरण गरेका थिए । सामाजिक दुरी कायम गरी विपन्न तथा गरीबहरुको सहयोगका लागि निरन्तर लाग्ने संगठनले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ