काठमाडौँ , २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा रहेका नेपालीहरूलाई तत्काल ल्याउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा उनले नेपालमा भन्दा भारतमा संक्रमण बढी फैलिएकाले त्यहाँ रहेका नेपालीलाई अहिल्यै फर्काउनु जोखिमपूर्ण हुने उनले बताए ।
भारतमा अलपत्र नेपालीहरूलाई के गर्ने भन्ने प्रसंग बैठकमा उठेपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । ‘भारतमा हजारौं नेपाली अलपत्र छन् । उनीहरू नेपाल आउन चाहन्छन् । अरू मुलुकमा अलपत्र परेका नेपालीको संख्या पनि ठूलो छ, तिनलाई के गर्न सकिन्छ ?’ भनेर मन्त्रीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रत्युत्तरमा ओलीले भारत र अन्य मुलुकमा रहेका नेपालीको अवस्था गम्भीर नरहेको र त्यहाँका सरकारले खानपिनसहित बसोबासको व्यवस्था गरिरहेको बताएका थिए । विदेशमै नेपालीहरूलाई सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन त्यहाँका सरकार प्रमुख र विदेशमन्त्री तहमा वार्ता र छलफल भइरहेको ओलीको भनाइ छ ।
विदेशका नेपालीलाई तत्काल फर्काउने सस्तो लोकप्रियतावादी कुरा नगर्नसमेत उनले मन्त्रीहरूलाई आग्रह गरेका थिए । सीमा नजिकका १ हजार २ सय जनालाई ल्याउनासाथ भारतको दिल्लीसहित विभिन्न सहरमा रहेकाहरूले पनि उद्धार गरिदिन आग्रह गर्न थालेको र त्यो तत्काल थेगिनसक्नु रहेको प्रधानमन्त्रीले बताए ।
प्रधामनन्त्री ओलीले भारतबाट कोरोना संक्रमण भित्रिन नदिन सीमामा हुने आवतजावतमाथि अझै कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अहिले नाकाहरू सिल गरिएको छ तर लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने सूचना आएको छ । सीमाका भारतीय अधिकारीहरूसँग कुरा गरेर थप कडाइ गराउन गृहमन्त्रीलाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया