तीन दलको बैठक निष्कर्षविहीन, सरकारको विकल्प खोज्ने विषयमा जसपाले थप छलफल गर्ने

समाचार

4/9/2021

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक बिना निष्कर्ष सम्पन्न भएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जनता समाजवादी पार्टी नेपालले थप छलफल गर्ने बताएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसले नयाँ सरकार गठनबारे पहिलो पटक औपचारिक रुपमा प्रस्ताव गरेको बताएका छन् ।

कांग्रेस सभापति देउवाको आह्वानमा उनकै निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले कांग्रेसको औपचारिक प्रस्ताव पहिलो पटक आएको र यसबारे आफूहरुले पार्टीमा थप छलफल गरेर निर्णय गर्ने बताए ।

उनले अहिले आफूहरुको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाइदिएको बताउँदै त्यसको फाइल प्रधानमन्त्रीसँग गइसकेको बताए ।

‘हामीले उठाएको मुद्दा प्रधानमन्त्री ओलीले अगाडि बढाइदिनु भएको छ, ठाुकरले भने । उनले नयाँ सरकार गठनका विषयमा आफूहरु सकारात्मक रहे पनि सरकारको विकल्प खोज्ने विषयमा पार्टीले औपचारिक निर्णय नगरेको भन्दै यसबारे थप छलफल गर्ने बताए ।

सरकारको विकल्प खोज्न जसपा तयार हो कि होइन भन्ने पत्रकारको प्रश्नमा ठाकुरले भने, ‘मैले अघि नै भने, हामीले छलफल गर्ने बाँकी छ । अहिले टुंगिएको छैन ।’ अध्यक्ष ठाकुरले जसपालाई सरकारको नेतृत्व नभइ सरकारलाई सहयोग गर्नेबारे प्रस्ताव आएको बताए ।

‘तीन दल मिलेर सरकार बनाऊँ तपाईहरु सहयोग गर्नुहोस् भन्ने प्रस्ताव आयो । सरकारको नेतृत्व गर्ने प्रस्ताव आएको होइन, उनले भने । उनले जसपाका कारण नयाँ सरकारको विषय नरोकिएको बताउँदै भने, ‘सरकार बनाउने त भर्खर आज प्रस्ताव आयो, जसपाका कारण रोकिएको होइन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ