काठमाडौं, ५ माघ । पछिल्लो केही दिनदेखि तराईमा बढेको शीतलहरका कारण पठनपाठनमा समस्या उत्पन्न भएपछि विद्यालयहरु धमाधम बन्द हुन थालेको छ ।
चिसो बढेसँगै पठनपाठनमा समस्या भएपछि पर्साका तीन स्थानीय निकायहरुले आफ्नो मातहतका विद्यालयहरुमा बिदा दिएका छन् । सम्बन्धित स्थानीय निकायले सूचना जारी गरी आफू मातहत रहेका विद्यालयमा तीन दिनको लागि बिदा दिन थालेका हुन ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका, बिन्दबासिनी गाउँपालिका र जिरा भवानी गाउँपालिका गरी तीनै स्थानीय तहले आफू मातहतका विद्यालयहरुमा बिदा दिएका छन् ।
चिसो बढेर शीतलहर चल्न थालेपछि नेपाल शिक्षक महासंघ, प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल र वीरगञ्ज महानगरपालिकाले विज्ञप्ति जारी गर्दै महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुमा माघ ४ गते आइतबारदेखि ६ गते मँगलबारसम्म बन्द गरिएको जनाएको छ ।
यस्तै बिन्दबासिनी गाउँपालिकाले पनि आइतबार एक सूचना जारी गर्दै गाउँपालिका मातहतका सबै सामुदायिक, धार्मिक र परम्परागत विद्यालयहरुमा माघ ५ गते सोमबारदेखि ७ गते बुधबार सम्म तीन दिनको लागि बन्द गरिएको जनाएको छ । अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै गाउँपालिकाले विद्यालयहरु धमाधम बन्द गर्न थालेका हुन ।
यस्तै नेपाल शिक्षक महासंघ बिन्दबासिनी र गाउँपालिकाबीच भएको छलफलले विद्यालय तीन दिन बन्द गर्ने निर्णय नै गरिसकेका छन् । यस्तै जिरा भवानी गाउँपालिकाले पनि आइतबार नै सूचनामार्फत मातहतका विद्यालयहरु आईतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जानकारी दिएको छ ।
केही दिनदेखि तराईमा बढेको अत्याधिक चिसो तथा शितलहरका कारण जनजीवन प्रभावित भइरहेको छ भने त्यसको असर स्कुले बालबालिकामा पनि पर्न सक्ने कुरालाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।
उनले भने, ‘केही दिनदेखि बढेको चिसोका कारण तराईका जिल्लाहरुमा जन जिवन प्रभावित भएको छ। बिहानैदेखि लाग्ने कुहिरो र शितलहर पनि चल्ने गरेका कारण यहाँका मानिसहरुको जना जिवन प्रभावित हुँदै आएको छ । यसले साना बालबालिका र विद्यार्थीलाई असर गर्ने देखिएपछि हामीले विद्यालय बन्द गर्ने निर्णय गरेका हौ ।’
यस्ते, महोत्तरीको गौशाला नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने भएको छ ।
केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्रको सबै विद्यालयहरु तीन दिनका लागि बन्द हुने भएको हो ।
वाक्लो हुस्सु र शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि गौशाला नगरपालिकाले शुक्रवारसम्मको लागि सामुदायिक विद्यालयहरुमा जाडो विदा दिएको शिक्षा अधिकृत संजय कुमार सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया