तराई–मधेश द्रुतमार्गको निर्माण द्रुतगतिमा

समाचार

4/22/2021

बारा, ९ बैशाख । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग (फास्ट–ट्रयाक)को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

‘फास्ट–ट्रयाक’ परियोजना निर्माणमा बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिबाट काम रोक्न सरकारलाई निर्देशन भएको छ । सो निर्देशनपछि केही अल्मलिएको सेनाले काममा गति लिएको छ ।

त्यस्तै सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र विकास तथा प्रविधि समितिका सदस्य सांसदहरूले ‘फास्ट–ट्रयाक’को स्थलगत अवलोकन गरी निर्माण कार्यमा ढिलासुस्ती नगर्न सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको फास्ट–ट्रयाकको निर्माण कार्य आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदले निर्माण कार्य नरोक्न र प्रक्रिया अविलम्ब थाल्न सुझाएसँगै निर्माणको थप प्रक्रिया अगाडि बढाइएको हो ।

तराई–मधेशलाई काठमाडौँ तथा पहाडलाई तराईसँग जोड्ने छोटो (७२.५ किलोमिटर) दूरीको राजमार्ग फास्ट–ट्रयाकबाट एक घण्टामा काठमाडौँ–तराई आवतजावत गर्न सकिने छ ।

यो आयोजना निर्माण कार्य सम्पन्न गर्न करिब एक खर्ब ७५ अर्ब १९ करोड रुपियाँ बजेट छुट्याइएको छ । सेनाले ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ४४ किलोमिटर सडक फराकिलो पार्ने काम सम्पन्न गरिसकेको छ । तीनवटा सुरुङमार्गको लम्बाइ ६.४ किलोमिटर र ८७ वटा पुलको लम्बाइ १०.५ किलोमिटर छ ।

पुल र सुरुङमार्ग निर्माण सहजीकरणका लागि सडक पूर्वाधार र संरचना सेनाले निर्माण गरिसकेको छ । फास्ट–ट्रयाकलाई ११ प्याकेजमा विभाजन गरी बोलपत्र प्रक्रिया सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ