तिलोत्तमा नगरपालिकाका शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द

समाचार

4/25/2021

रुपन्देही, १२ बैशाख । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाभित्रका शैक्षिक संस्थाहरु अनिश्चितकालसम्म बन्द भएको छ ।

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले आइतबारदेखि नै लागू हुनेगरी विद्यालय, कलेज, होस्टेल, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने र सबै प्रकारका परीक्षाहरु समेत स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले तिलोत्तमा–१, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययनरत छात्रा प्रतिमा सापकोटाको निधनबारे तीन दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन गर्न एक समिति गठन गरेको छ ।

तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डीबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानबिन समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

विवाह, ब्रतन्ध, अन्तिम संस्कार जस्ता अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु २५ जनाको उपस्थितिमा निर्धारित मापदण्डको पालन हुने गरी मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ