जनकपुरधाम, २८ असोज । चाडपर्व नजिकिँदा पनि तलब दिन आनाकानी गरेको भन्दै धनुषास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारीहरू १७ दिनदेखि धर्ना बसेका छन् ।
कलेज परिसरमै रहेको मन्दिरमा कर्मचारीहरू धर्ना बसेका हुन् । विगत ६ वर्षदेखि बाँकी सञ्चय कोष, दशैँ खर्च र नियमित तलब भत्ता कलेजले दिन आनाकानी गरेको कर्मचारीहरूको गुनासो छ । उनीहरूले असोजमै तलब दिने सम्झौता कलेजले गरेपनि कार्यान्वयन नभएको बताउँछन् ।
यसअघि कर्मचारीहरूले कलेजको प्रशासन शाखामा तालाबन्दी गरेका थिए । त्यसपछि कलेज प्रशासनले कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले कर्मचारी र कलेज प्रशासन प्रमुख दयानन्द झालाई बोलाएर तीन बूँदे सम्झौता गराएका थिए ।
असोज ४ गतेसम्म कर्मचारी र कलेज दुवै पक्षले लेखापाल राखेर हिसाब निकाल्ने, असोज १ गते तालाबन्दी खोल्ने र असोज ३० गतेसम्म कलेजका अध्यक्ष आएर कर्मचारीको समस्या समाधान गर्ने सम्झौता कलेजको तर्फबाट प्रशासन प्रमुख झा र कर्मचारीहरूबीच भएको थियो । तर सो सम्झौताको पालना कलेजले नगरेपछि कर्मचारीहरू धर्ना बसेका छन् ।
कलेजले सम्झौता उल्लंघन गरेपछि बाध्य भएर कलेजका ११३ कर्मचारी धर्नामा बसेको कर्मचारी आन्दोलन संघर्ष समितिका अध्यक्ष उमेश यादवले बताए । तलब माग्दा कलेजबाट निकाल्ने धम्की प्रशासन प्रमुख झाले दिने गरेको उनले गुनासो गरे ।
कलेजको चरम लापरबाहीले पटकपटक कर्मचारी आन्दोलित हुँदा विद्यार्थीको भविष्यमाथि समेत खेलबाड भइरहेको छ ।
तपाईको प्रतिक्रिया