काठमाडौं, २७ असार । पूर्वराजपाका नेता राजकुमार थापाले जनता समाजवादी पार्टी नेपाल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । थापाले आइतबार जसपा खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा निर्वाचन आयोग र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाइएको छ ।
एकीकरण प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन र कानुन विपरित भएको भन्दै एकीकरण बदर गरी पहिलेकै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल कायम गराइदिन रिटमा माग गरिएको छ ।
गैर संवैधानिक र ऐन, नियम विपरित दल एकीकरण गर्ने निर्णय खारेज हुनु पर्ने माग गरिएको छ ।
संवैधानिक एवं कानूनी व्यवस्थाको विपरित कुनै पनि दल राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भन्दै त्यसो गरेमा कारबाहीको भागिदार हुने व्यवस्था रहेकाले सोही व्यवस्था अनुसार बदर गर्न रिटमा माग गरिएको छ ।
संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधान अपुरो राखी निर्वाचन आयोगले दर्ता गरिदिएको भन्दै एकीकरण पहिलेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको निर्णय र आपसी सम्झौता पत्र सहित राजनीतिक दल एकीकरण गर्नु पर्नेमा सो नगरिएको, दल दर्ताको निवेदन त्रुटिपूर्ण रहेको, निर्वाचन आयोगले निष्पक्ष सुनुवाइ नगरी एकीकरणको प्रमाण पत्र दिएको रिटमा उल्लेख छ ।
रिटमा यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग गरिएको छ ।
तपाईको प्रतिक्रिया