काठमाडौँ, २३ वैशाख । सरकारले भारतसँग जोडिएको नाकाहरुमा सशस्त्र प्रहरी र नेपाली प्रहरीका थप जनशिक्त परिचालन गर्ने भएको छ । सरकार अन्तर्गत रहेका महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको सुरक्षामा तैनाथ सशस्त्र र नेपाल प्रहरीलाई झिकेर सीमा नाकामा परिचालन गर्ने सरकारले निर्णय गरेको हो ।
भवन तथा प्रतिष्ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती संरचनाको सुरक्षामा खटाइने भएको हो । गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले सरकारी संरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिइएको छ ।
गृहको यो निर्णयसँगै देशभरका कारागार, विभिन्न राजदूतावास, नेपालस्थित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेनाको जनशक्ति खटाइने भएको छ ।
नेपाल–भारत १८ सय ८० किलोमिटर लम्बाईको सीमा क्षेत्रलाई कडाई गरिने छ । लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।
गृहको पछिल्लो निर्णयसँगै सीमा क्षेत्र आवातजावतमा थप कठाइ गर्न अन्य जिल्ला र महत्वपूर्ण भौतिक संरचनाको सुरक्षामा खटिएका जनशक्तिमा पनि सीमा केन्द्रित गरिने छ । सुरक्षा निकायहरुबाट प्राप्त विवरणपछि सीमा क्षेत्रमा थप जनशक्ति परिचालन बारे थप निर्णय गरिने गृह प्रवक्ता शर्माले बताए ।
तपाईको प्रतिक्रिया