थरुहट–थारुवान मोर्चाले फागुन १५ र १६ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने

समाचार

2/26/2021

धनगढी, १४ फागुन । लक्ष्मण चौधरी संयोजक रहेको थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले यही फागुन १५ र १६ गते कैलालीमा विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी रहेको भन्दै मोर्चाका संयोजक लक्ष्मण चौधरीलाई आजीवन कैदको फैसला सुनाएको थियो ।

मोर्चाले कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा पत्रकार सम्मेलन गर्दै विशेष राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको छ ।

सम्मेलनको तयारी ९० प्रतिशत पूरा भएको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए । सम्मेलनले आदावासी तथा जनजाति समूहको नेतृत्व गर्ने नयाँ टिम चयन गर्ने उनले बताए ।

उनका अनुसार फागुन १५ गते कैलारी गाउँपालिकाको हसुलियामा शक्ति प्रर्दशन गरिने छ । जसमा ५० हजारभन्दा बढी थारु नागरिकको सहभागिता रहने थारु नेता चौधरीले बताए ।

यसैगरी थारु युवालाई कम्व्याड ड्रेससहित प्रदर्शनमा उतार्ने तयारी गरिएको उनले बताए ।

मोर्चाका प्रवक्ता मीनराज थारुले थारुको आन्दोलनको तयारी स्वरुप विशेष सम्मेलन गर्न लागिएको बताए । ‘पटक–पटक राज्यले थारु नागरिकमाथि अन्याय र दमन गर्दै आएको छ,’ प्रवक्ता थारुले भने, ‘अब थारुले सरकारविरुद्ध विद्रोह गर्नेछ, त्यो विद्रोह निम्त्याउने सरकार नै हो ।’

गत पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण सहितलाई जन्मकैद फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध मोर्चा विरोधमा उत्रिएको छ ।

१६ गतेको बन्दसत्रमा दलित, खसान, तमुवान, मगरात लगायतको सम्पूर्ण पहिचानवादीहरु बीच छलफल हुने साथै छलफलमा पार्टीभन्दा माथि उठेर पहिचानको सवालमा केन्द्रीत हुने मोर्चाको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ