थारू मोर्चाले बनायो रेशम चौधरीको संयोजकत्वमा वार्ता टोली

समाचार

3/26/2021

धनगढी, १३ चैत । टीकापुरको थारु आन्दोलनबाट उत्पन्न घटनाका सन्दर्भमा सरकारसँग समाधान खोज्न थारुवान/थारुहट मोर्चाले सांसद रेशमलाल चौधरीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

कारागारमा रहेका सांसद चौधरीको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले कैलालीको हसुलियामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

वार्ता टोलीका ६ सदस्यीय टोलीमा टीकापुरबाट लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी रहेका छन् । उनीहरु सबै अदालतबाट टीकापुर घटनामा दोषी करार ठहर गरिएकामा पर्छन् ।

‘सरकार थारुसँग वार्ता गर्न इच्छुक देखिएकोले वार्ता टोली गठन गरेका छौं,’ मोर्चाका संयोजक लक्ष्मण थारुले भने, ‘वार्ता जेलभित्र होइन । संयोजक रेशम चौधरीलाई बाहिर ल्याएर सरकारले वार्ता टोलीसँग वार्ता गर्न तयार हुनुप¥यो ।’

उनले थारुका १४ बुँदे राजनीतिक मुद्दाहरुलाई अहिलेको वार्तामा थाती राखेर टीकापुर घटनाका झुटा मुद्दा खारेजी र जेलमा रहेकालाई रिहाइका विषयमा मात्रै वार्ता गर्न तयार भएको बताए ।

वार्ता टोलीको गठनसँगै शुक्रबार बसेको मोर्चाको बैठकले चैत २० गते भित्रमा सामूहिक रुपमा सर्वाेच्च अदालतमा न्याय प्राप्तिका लागि जाने निर्णय गरेको उनले बताए ।

टीकापुर घटनामा रेशम चौधरीसहित ७ जनाले जेल सजाय भोगिरहेका छन् । लक्ष्मण थारुसहित १८ जनालाई उच्च अदालतको फैसलाले दोषी करार ठहर गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ