दाङमा भारतीय मजदुरको प्रदर्शन

समाचार

5/20/2020

काठमाडौं, ७ जेठ । दाङका इँटा भट्टामा कार्यरत भारतीय मजदुरहरुले आफूहरुलाई स्वदेश फर्काइदिन माग गर्दै घोराहीमा प्रदर्शन गरेका छन् । हिन्दी भाषमा ‘नेपाल सरकार हामीलाई घर पठाऊ होइन भने यहीँ गोली हान्देऊ’ लेखिएका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

लकडाउनसँगै इँटाभट्टामा काम बन्द भएपछि भारतका मजदुरहरु सोमबार साँझ आफैं गाडीको व्यवस्था गरेर घर जाने भन्दै घोराहीबाट नेपालगञ्जतर्फ प्रस्थान गरेका थिए ।

तर, बाँकेको नरैनापुरका धेरै व्यक्तिमा कोरोना संक्रमणको समाचार सार्वजनिक भएपछि उनीहरुलाई दाङ प्रहरीले बाँकेको सिमाना अमेलियाबाट फर्काएर पुनः घोराही ल्याएको थियो ।

घर जान रोकेको आक्रोशमा उनीहरु प्रदर्शनमा उत्रिएका थिए । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले भारतीय मजदुरहरुलाई फर्काउन बाँके प्रशासनसँग पहल गरिरहेको बताए ।

दाङका बिभिन्न इँटा उद्योगहरुमा करिब ६ हजार भारतीय मजदुरहरु रहेको अनुमान छ । कतिपय लकडाउन सुरु भएलगत्तै फर्किए पनि अझै करिब ३–४ हजारको संख्यामा दाङमा हुन सक्ने जनाइएको छ ।

दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले उद्योग बन्द भएपछि भारतीय मजदुरलाई घर फर्काउने प्रयास गरे पनि स्थानीय प्रशासनले प्रक्रियामा ढिलाइ गर्दा कतिपय मजदुर भागेर जान थालेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ