बारा, २ बैशाख । बारा, महोत्तरी र सर्लाहीमा भएको विभिन्न दुर्घटनाहरुमा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
जितपुर सिमरा उप महानगरपालिका १६ स्थित पूर्व पश्चिम सडक खण्डको बालगंगा पुल नजिक ना.२७ प ६३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निजगढबाट पथलैया तर्फ जादै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिराहाको सिराहा नगरपालिका ७ बस्ने ३९ वर्षे सशी कान्त झा र नुवाकोटको बिदुर गाउँपालिका ७ बस्ने ३९ वर्षका सानु काजी चित्रकार रहेका छन् ।
यस्तै, महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको लु १ क ८४५० नम्बरको ट्रकले भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा २ ग ९३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी जिल्लाको कालेपोखरी गाउँपालिकाका ३० वर्षीय नरेन्द्र दुलालको मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार २७ वर्षीय केदार वास्तोला गम्भीर घाइते भएका छन् ।
यस्तै सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. ८ गाँजली चोकमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
गाँजली चोकस्थित सोल्टी बजारबाट हजरियातर्फ जाँदै गरेको बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई बागमती खोलाबाट बालुवा बोकी बरहथवातर्फ आँउदै गरेको ज १ त १५७४ नं. को ट्र्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार बरहथवा नगरपालिका वडा नं. १५ पिपराभित्ताका ४५ वर्षीय भिखारी सहनी र मोरसाइकलको पछाडी सवार रौतहटको परोहा नगरपालिका वडा नं. ९ मा बस्दै आएका भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको प्रवक्ता कुँवरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया