धनगढी, २२ जेठ । धनगढीमा सामाजिक दुरी कायम गरी बिहान ११ बजेसम्म पसल खोल्न पाइने भएको छ । धनगढीका व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले बिहान ११ बजेसम्म बजार खोल्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले क्रेता र बिक्रेताबीच सामाजिक दूरी र मास्क प्रयोगलाई अनिवार्य गरी बिहान ७ देखि ११ बजेसम्म बजार खोल्न दिइने बताए ।
मंगलबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा व्यवसायीले लकडाउन अवज्ञा गर्दै सम्पूर्ण बजार खोल्ने चेतावनी दिएका थिए । बुधबार स्थानीय प्रशासनले उद्योग वाणिज्य संघ, स्थानीय तहलाई छलफलमा बोलाएको थियो । कैलाली उद्योग संघका अध्यक्ष पुष्पराज कुँवरले लकडाउनलाई खुकुलो पार्दै बिहीबारदेखि बिहान ११ बजेसम्म बजार खोल्न दिने स्थानीय प्रशासन, स्थानीय तह र व्यवसायीबीच भद्र सहमति भएको बताए ।
‘पहिलो चरणमा व्यवसायीले बिहान ११ बजेसम्म आफ्नो व्यापार र व्यवसाय सञ्चालन गर्न पाउने भए ’उनले भने,‘लकडाउनलाई खुकुलो पार्दै जानु पर्छ भन्ने निजी क्षेत्रको भावना हो ।’उनले बुधबारको छलफल पश्चात् प्रशासनले लकडाउन खुकुलो पार्न तिर संकेत गरेको बताए ।
तपाईको प्रतिक्रिया