दिल्लीको धार्मिक सभाबाट फर्किएकामध्ये बारा र सिरहाका २० जना

समाचार

4/3/2020

काठमाडौं, २२ चैत । भारतको दिल्लीमा धार्मिक सभामा भाग लिएर आएको आशंका गरिएका २० जना बारा र सप्तरीमा भेटिएका छन् ।

भारतमा कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेलेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा सहभागी भएर फर्किएको आशंकामा बारामा ११ जना र सप्तरीमा ९ जना बिहीबार भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बारामा पक्राउ परेकाहरु पनि सप्तरीकै हुन् । उनीहरु लकडाउनको समयमा पनि भारतबाट नेपाल छिरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

बारामा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरैनियाको टोलीले विश्रामपुर गाउँपालिकाको बरैनियाबाट ११ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई वीरगञ्जस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राख्न पठाइएको प्रहरीले जनाएको छ ।

सप्तरीमा फेला परेका ९ जनाले पनि आफूहरु दिल्ली नपुगेर राँचीबाटै फर्किएको बताएका छन् । उनीहरु लकडाउनकै समयमा ४–५ दिन पहिलेमात्र भारतबाट नेपाल आएको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरुलाई मदरसाको क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि सप्तरीमा बुधबार मात्रै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनीहरु धार्मिक सभामा सहभागी भएर फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ