काठमाडौं, ११ मंसिर । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक बिहीबार राजधानीमा सम्पन्न भएको छ ।
बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।
बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका थिए ।
बैठकपछि श्रृंगलाले उक्त बैठक फलदायी र उपयोगी आदानप्रदान भएको बताए । सहयोगका क्षेत्रहरू अगाडि बढाउन विभिन्न चरणहरूमा छलफल भएको र यसअघि गरिएका प्रतिबद्धतामा राम्रो प्रगति भएको उनले जानकारी दिए । उनले विदेश सचिव भरतराज पौड्याललाई निम्ताएको र आतिथ्यका लागि धन्यवाद पनि दिएका छन् । त्यसअघि परराष्ट्रसचिवद्वयबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
यसैबीच भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ । दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धिपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ । साथै, उनीहरु बीचमा आपसी हितका मुद्दाहरुमा छलफल गरेको जनाएको छ ।
सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आएका हुन् । उनको शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ । दुईदिने भ्रमण सकेर उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया