दशगजामा हजार बढी भारतीय अलपत्र

समाचार

6/4/2020

काँकडभिट्टा, २२ जेठ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा अलपत्र छन् ।

अलपत्र परेकाहरु अधिकांश नेपालका विभिन्न उद्योगमा कार्यरत श्रमिकहरु छन् । उनीहरु केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र थिए । मेची नगरपालिका र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शगजामा लगेर छाडिएको हो ।

‘उनीहरुलाई राख्ने हामीसँग न क्वारेन्टाइन छ न त भात ख्वाउने क्षमता नै’, मेची नगरका मेयर विमल आचार्यले भने, ‘भारतले आफ्ना नागरिक बुझेर लगोस् भनेर दशगजामा छाडेका हौं ।’

दुई दिनअघि असम, सिक्किम, मणिपुर लगायत भारतको पूर्वोत्तर राज्य प्रतिनिधिले नेपालमा अलपत्र नागरिक बुझेर लगेका थिए । तर, पश्चिम बंगालले भने नेपालबाट आउने नागरिकलाई राख्ने क्वारेन्टाइनको पर्याप्त तयारी नभएको कारण देखाएर रोकावट गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले नाकामा भारतीयको भीड बढेको बढै हुँदा समस्या भएको जनाए । उनका अनुसार अझै २० हजार भारतीय पूर्वी नाकाबाट भारत फर्किंदै छन् । अधिकांश पश्चिम बंगालका हुन् ।

खासगरी इँटा कारखानामा कार्यरत मजदुरहरुको नाकामा भीड देखिएको छ । वर्षायामका कारण इँटा कारखानाहरु धमाधम बन्द हुन् थालेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ