दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ : मुख्यमन्त्री राउत

समाचार

9/3/2020

रौतहट, १८ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले रौतहट घटनाका दोषीहरुलाई कडाभन्दा कडा सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँग मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भए पनि सजाय भोग्नु पर्ने बताएका हुन् ।

गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवारसँगको भेट्मा उनले गरुडा घटनाबारे सूक्षम छानबिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्चस्तरीय छानबिन समिति गठन भैसकेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कडाभन्दा कडा कारबाही गरिने उल्लेख गरे ।

मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे ।

उक्त अवसरमा आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्दै न्याय पाउनेमा विश्वस्त रहन पीडित परिवारलाई आग्रह गरे ।

यसैगरी माधव नारायण नपामा हत्या भएको पुजारी राम साहको हत्यास्थल पुगेका मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गराउने प्रतिबद्धता व्यक्त गरे ।

साधु जस्तो व्यक्तिलाई हत्या गर्नेलाई फाँसीको सजाय पनि कम हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता अपराधीलाई ईश्वरले पनि माफ गर्न नसक्ने उल्लेख गरे ।

कार्यक्रममा आन्तरिक मामिलामन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनीतिकरण नगर्न विपक्षीलाई चेतावनी समेत दिए ।

उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले बिहीबार खेसरिया बजारमा मुख्यमन्त्री र आन्तरिक मन्त्रीले संयुक्त रुपमा प्रहरीचौकीको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यीकरणको शिलान्यास समेत गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य शेख अबुल कलाम, राम किशोर यादव, बाबुलाल साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ