दोस्रो चरणमा पर्सामा ४५ हजारलाई खोप लगाइने

समाचार

3/11/2021

वीरगञ्ज, २७ फागुन । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान पर्सामा पनि सुरु भएको छ । दोस्रो चरणमा पर्सामा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटेका ४५ हजार जनालाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियान सुरु गरेका थिए । पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि सुरु भएको थियो ।

फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल तथा नर्सिङ होमका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुले पहिलो चरणमा खोप लगाइसकेका छन् ।

पर्सामा पहिलो चरणमा ९ हजार ६०१ जनाले खोप लगाइसकेका छन् । १ प्रतिशत मात्रै खोप खेर गएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार १४ वटा पालिकामध्ये आइतबारदेखि २६ गतेसम्म र २८ गतेदेखि चैत २ गतेसम्म ७–७ वटा पालिकामा खोप अभियान सञ्चालन हुनेछ । पालिका अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र स्थापना गरिएको छ ।

पर्सागढी र पोखरिया नगरपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन भएको छ । ३७ वटा खोप केन्द्रमार्फत यी ७ पालिकाका १८ हजार जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक अनिल सिंहले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका लगायत बाँकी ७ पालिकामा २८ गतेदेखि ५३ वटा खोप केन्द्रमार्फत खोप लगाइनेछ । नागरिकता प्रमाणपत्र नभएकालाई वडाध्यक्षको सिफारिसमा खोप लगाउने तर भारतीय नागरिकलाई खोप नलगाउने निर्देशन माथिल्लो निकायबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ