धनुषाका ८ वटै प्रदेश निर्वाचन क्षेत्रमा काँग्रेसको विरोध प्रदर्शन

समाचार

1/10/2021

जनकपुरधाम, २६ पुस । नेपाली कांग्रेस धनुषाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा धनुषाको आठ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको देशभरको प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध विरोध गर्ने कार्यक्रम अन्तर्गत धनुषाको ८ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को (क) मा क्षेत्रीय सभापति दीपनारायण यादव, क्षेत्र नम्बर १ को (ख) मा केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना, क्षेत्र नम्बर २ को (क) मा प्रदेश सभा सदस्यका उम्मेदवार राजा गोइत, २ (ख) मा केन्द्रीय सदस्य रामकृष्ण यादव, क्षेत्र नम्बर ३ (क) मा प्रदेशसभा सदस्य रामसरोज यादव, ३ (ख) मा केन्द्रीय सदस्य मिनाक्षी झा एवं क्षेत्रीय सभापति कन्हैया लाल कर्ण र क्षेत्र नम्बर ४ (क) मा प्रदेश सभा सदस्यका उम्मेदवार बासुलाल महतो र ४(ख) मा केन्द्रीय सदस्य महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो ।

विरोधर सभाको कोण सभामा बोलेका अधिकांश नेताहरूले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर आफ्नो निरंकुश चरित्र उजागर गरेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदम मुलुकका लागि घातक साबित हुने समेत उनीहरूले बताएका थिए ।

नेपाली कांग्रेसको माघ ३ गते देशभरकै ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ