जनकपुरधाम, १८ जेठ । धनुषामा पुनः एक साता निषेधाज्ञा अवधि बढाइएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन समिति धनुषाको बैठकले आज रातिदेखि जेष्ठ २४ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा अवधिमा सबै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयको सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञा अवधिमा सार्वजनिक तथा निजी गाडीमा रोक लगाइएको छ भने मालवाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी तरकारी, दुग्धजन्य पदार्थ, पशुपक्षीको दानालगायत दुवानी गर्ने सवारीसाधनमा भने रोक लगाइएको छैन । धनुषामा १ हजार ५ सय २० जना कोरोनाको सक्रिय संक्रमित छन् ।
तपाईको प्रतिक्रिया