जनकपुरधाम, ३० बैशाख । कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समय धनुषामा जेष्ठ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख १९ गतेदेखि लगाएको निषेधाज्ञा शुक्रबार सकिँदै थियो । तर बिहीबार नै अवधि बढाउने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना संक्रमण दर कम गर्न तथा यसको चेनलाई ब्रेक गर्न निषेधाज्ञा लगाइए पनि संक्रमण तथा मृत्यु दरमा सुधार नआएकोले जेष्ठ १० गतेसम्मको लागि निषेधाज्ञाको समय बढाइएको बताए ।
त्यस्तै जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अस्पतालहरुमा अक्सिजनको माग अत्याधिक बढे पनि सीमित सिलिन्डर रहेकोले १२५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराउनको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले निषेधाज्ञालाई कार्यान्वयनको लागि खटायएको सुरक्षाकर्मीहरुको इन्धन तथा सुरक्षा उपकरणको लागि ७ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्लामा एम्बुलेन्स पर्याप्त भए पनि बिरामीहरु समयमा एम्बुलेन्स नपाएको, कोरोना बिरामीलाई नलगेको तथा अत्याधिक भाडा लिने गरेको गुनासो आएकोले त्यस्तो नगर्न आग्रह गर्दै त्यस्तो गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने निर्णय भएको प्रजिअ बास्तोलाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया