जनकपुरधाम, २९ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नपा १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै अध्यक्ष ठाकुरले मुलुक कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अवस्थामा समेत आन्तरिक किचलोका कारण नेकपा नेतृत्वको सरकारले मुलुकलाई सही दिसा दिन नसकेको बताएका हुन् ।
शिक्षा, स्वास्थ्य , व्यवसाय सबै धाराशायी बनेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भने, ‘कोरोना महामारी लगायतको समस्याले मुलुक जटिल अवस्थामा छ, तर नेकपा आन्तरिक विवादमै मस्त छन् ।’
कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघ सरकार प्रदेश २ संग सौताको व्यवहार गरि रहेको आरोप लगाए । बजेटको बाँटफाँड लगायतको विषयमा केन्द्र सरकारक आफुहरु संग सौताको व्यवहार गर्दै आएको उनको कथन थियो ।
प्रदेश सरकार सिमित स्रोत साधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अधिकार सहितको संघीयता कार्यान्वयनका लागी प्रदेश सरकार संघ सरकार माथि एकपछि अर्को मुद्दा दिँदै कानूनी लडाई लडिरहेको उल्लेख गरे ।
मनरा सिस्वा नपाका प्रमुख संजय सिंहको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, अल्का झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
तीन करोड ५५ लाखको लागतमा १५ महिनाभित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले बताए ।
तपाईको प्रतिक्रिया