काठमाडौं, ३१ जेठ । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक आज पारित गर्दैछ ।
सो विधेयकमा जनता समाजवादी पार्टी नेपालसहित सबै राजनीतिक दलले समर्थन जनाएको छ । तर, जसपाकै सांसद सरिता गिरीले सो विधेयकको विरुद्धमा संशोधन हालेकी छन् । उनलाई आफ्नो संशोधन फिर्ता लिन जसपाले निर्देशन दिएपनि आफ्नो अडानमा उनी कायमै छिन् ।
उनले नक्सासम्बन्धी संविधान संशोधन गर्नुपर्ने कारण उल्लेख नभएको संशोधन गर्ने औचित्य नरहेको दाबी गर्दै सरकारको संशोधनमाथि संशोधन हालेकी छन् ।उनले भनेकी छन्, ‘ मधेशी र जनजाति आदिवासी विरोधी ओलीको जातीय राष्ट्रवादलाई जसपाले काँध थापी बोक्नु पर्ने कारण के ?’ भनेर प्रश्न गरेकी छन् ।
‘देशद्रोह, राष्ट्रद्रोह, राष्ट्रघात सबै मुद्दा खेप्न तैयार छु । जेल जान तैयार छु । पहिला संसदमा आफनो कुरा त राख्न पाउनु पर्यो ।’ भनी उनी आफ्नो अडानमा कायम छिन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
तपाईको प्रतिक्रिया