काठमाडौं, ३० कार्तिक । भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए)को प्रमुख नितिशकुमार पुनः मुख्यमन्त्री बन्न लागेका हुन् । सोमबार उनले सातौंपटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को बैठकले नितिशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेको हो । यससँगै उनले आइतबार बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् ।
२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २७ सिट जितेको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेको छ ।
बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो । एनडीएका तर्फबाट सातौँ पटक अब नितिश कुमार नै बिहारको मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने राष्ट्रिय जनता दलले ७५ सिटमा जितेको छ ।
बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।
कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको बताइएको छ । बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा तीन चरणमा चुनाव भएको थियो ।
तपाईको प्रतिक्रिया