काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य चित्रलेखा यादवले नीति तथा कार्यक्रमले लोकतन्त्रलाई मजबुर लोकतन्त्र बनाएको टिप्पणी गरेकी छन् ।
संघीय संसदको प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद यादवले नीति तथा कार्यक्रमलाई मजबुत र परिपूर्ण बनाउनु साटो मजबुर लोकतन्त्र बनाएको आरोप लगाएकी छन् ।
उनले भनिन्, ‘लोकतन्त्रलाई यसरी मजबुर बनाएको छ कि संविधानको मर्म र भावनाअनुरुप निर्वाचन प्रणाली मात्रै दुई बनाएको हो । सांसदलाई बजेट दिएको छ त्यो बन्द गरिनुपर्छ ।’
सबै बजेटहरु कोरोना महामारीविरुद्धमा लड्नका निम्ति लैजानुपर्ने उनले सुझाव दिएकी छन् । बेरोजगारीको समस्या अत्यन्त विकराल रहेको बताउँदै उनले किसान र मजदुरहरुलाई राहत दिने कुरालाई पनि सम्बोधन गर्न नसकेको उनले गुनासो गरेकी छन् ।
किसान, श्रमिक र मजदुर समाप्त भयो भने यो देश समाप्त हुन्छ भन्ने कुरा किन यो सरकारले बिर्सेको छ भन्ने प्रश्न गरिन् । आँखामा पट्टि बाँधेर यो नीति तथा कार्यक्रम ल्याइएको उनले आरोप लगाएकी छन् ।
उनले यस्ता नीति तथा कार्यक्रमले अहिलेको विद्यमान चुनौतीको सामना गर्न नसक्ने दाबी गरेकी छन् । उनले ‘फेस इट, फाइट इट र फिनिस इट’को फर्मुलाअनुसार सरकारले नीति तथा कार्यक्रम ल्याउन सक्नुपर्ने बताइन् ।
तपाईको प्रतिक्रिया