काठमाडौं, १० चैत । नन्दवंश सोसियल वेलफेयर फाउण्डेशनले काठमाडौंमा होली पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
फाउण्डेशनले मंगलबार मधेश मिडिया हाउसमा होलीको शुभकामना आदान–प्रदान कार्यक्रम गर्नुको साथै काठमाडौंमा सञ्चालन गरिएको प्रत्येक सैलुनहरुमा दान बक्स पनि राखिने निर्णय गरेको हो ।
फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक जंग ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिद्वय अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघका केन्द्रीय अध्यक्ष बब्लु सिंह र नेपाल नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर रहेका थिए ।
यसैगरी, कार्यक्रममा अतिथिहरु नेपाल नाइ ट्रेड युनियनका महासचिव देवनारायण ठाकुर, नर्भिक हस्पिटलमा कार्यरत डा.रामबाबु ठाकुर, नाई ट्रेड युनियनका ललितपुर जिल्ला अध्यक्ष महादेव ठाकुर, युनियनका भक्तपुर जिल्ला अध्यक्ष जितेन्द्र ठाकुर, संघका ललितपुर जिल्ला अध्यक्ष राम सोगारत ठाकुर, रामचन्द्र ठाकुर, ब्युटिसियन शान्ता थापा लगायतले होलीको शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन सुमनकुमार ठाकुरले गरेका थिए ।
फाउण्डेशनले असहाय तथा विपन्न विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
नन्दवंश समाज कल्याणकारी विद्यालय तथा कलेजको स्थापना गर्ने, इन्जिनियरीङ्ग कलेज र सीटीइभीटी तथा शिक्षण अस्पताल स्थापना गर्ने, अनाथ आश्रम तथा वृद्धा आश्रमको स्थापना गर्ने, नन्दवंशीहरु हत्या हिंसा, बलात्कार तथा अरु जघन्य अपराधमा पीडित भएको खण्डमा निजको न्यायका लागि चाहिने आवश्यक सहयोग गरी न्याय दिलाउन पहल गर्ने लगायतका उद्देश्य फाउण्डेशनको रहेको छ ।
यसैगरी, दैविक विपति बाढी, पहिरो, भूकम्प, आगलागी तथा विभिन्न संक्रामक रोगहरु आदिको समयमा सहायतका लागि सहायता केन्द्र खोल्ने तथा खोलिउको सहायता केन्द्रलाई सहयोग गर्ने, बालबालिका तथा चेलिबेटी बेचबिखन विरुद्ध जनचेतनामूलक अभियान सञ्चालन तथा उद्धारको कार्य गर्ने, बालविवाह, दाइजो प्रथा तथा रुढिवादी परम्पराविरुद्ध नाटक तथा जनचेतना अभिवृद्धि सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया